नेपालमा खश जाति र वौद्धधर्म
डा. केशवमान शाक्य
भूमिका
A Khas of Nepal.Image: Jkhanal New & Views नेपालमा आफूलाई खस क्षेत्रीको पहिचान दिने जातिभित्र तीन किसिमका सामाजिक समूहहरू विद्यमान छन्– मतवाली, तागाधारी र ठकुरी । यी तीनवटा समूहहरू नेपालका विशिष्ट प्रकारका क्षेत्रीहरू हुन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि यी समूहहरूले खश पहिचानमा आफूलाई पनि आदिवासी जनजातिमा सूचिकृत गर्नुपर्ने माग गर्न थालेका छन् । आदिवासी जनजातिको मौलिक परिभाषा अनुसार हिन्दू वर्णाश्रमभित्र नपर्ने समतामूलक समुदाय जस्को आफ्नै भाषा, संस्कृति र आदिथलो भएको भन्ने हो । खशले आफूलाई आदिवासी जनजाति भन्नुको तात्पर्य त्यो समुदायले हिन्दू वर्णाश्रम अनुसारको क्षेत्री पहिचान परित्याग गर्न खोज्नु हो । क्षेत्री भनेको जाति नभै हिन्दू वर्णाश्रम अनुसार बाहुन, क्षेत्री, वैश्य, शुद्र मध्येको बाहुन पछिको दोश्रो दर्जाको सामाजिक वर्ण हो । खश भनेको जाति हो र नेपालको इतिहास विकासको क्रममा सुदूर पश्चिम नेपालमा विकास भएको आदिवासी हो । साथै खश जातिकै ठकुरी मध्येको शाह परिवारको राजतन्त्रको समाप्तिपछि यो जाति अब नेपालको एउटा जनजाति (Nationalities) को रूपमा विद्यमान हुन आएको पनि हो । हाल खश जातिले कतै खश क्षेत्री, कतै क्षेत्री मात्र र कतै खश मात्रको पहिचानमा जातिय रूपमा संगठित गर्दै राज्य पुनर्संरचनामा सहभागी हुन आएको छ । संघीय शासन व्यवस्थामा खसान÷कर्नाली राज्यको मागको साथै राज्यका सम्पूर्ण अंगमा समानुपातिक समावेशीकरण हुनुपर्ने नारा पनि उठाएका छन् ।
यस कार्यपत्रमा उठाउन खोजेको विषय भनेको खश जातिसँग बुद्धधर्मको नाता के कस्तो रहेको छ र उनीहरूले आफूलाई हिन्दू भन्दा पनि बौद्ध भन्नुमा धेरै सार्थकता छ भन्ने हो । यस प्रतिवादको आधार भनेको सुदूर पश्चिम नेपालको खश जातिको सामाजिक र सांस्कृतिक स्वरूप र खश साम्राज्यको इतिहासमा देखिएको बुद्धधर्मको उच्च स्थान नै हो । साथै नेपालको वर्तमान राजनैतिक बहसमा खश जातिले धर्म र जातिय राजनीतिमा खेल्नुपर्ने भूमिका बारे पनि स्पष्ट पारिनेछ ।
खश को हुन् ?खश जाति बारे अध्ययन अनुसन्धान गर्ने विद्वान्हरूले खशहरू बारे अनेक अड्कलहरू गरेका छन् । खशहरूको उद्गम थलोको बारेमा विचार राख्नेहरूले पश्चिम इरानको खशिस्तान, ककेशस पर्वत, क्याश्पियनसागर, अफगानिस्तानको खश मरुभूमि र खश नदी, बाल्हीक प्रदेशको बडा खशान, हिन्दुकुश पर्वत, काशगर, काश्मिर, कुमाउँ गढवालको खशमण्डल हुँदै नेपालको पश्चिममा कर्नाली प्रस्रवण क्षेत्रमा रहेको खश साम्राज्यसम्म देखा पर्दछन् । हाल आएर नेपालका क्षेत्रीहरूले आफूलाई खश भएको दावी गरेका छन् ।
नेपाली इतिहासको सन्दर्भमा नेपाली खशहरूको ऐतिहासिक थलो कर्नाली प्रदेश हो । खशहरू हिन्दू वर्णाश्रमबाट प्रभावित भएपछि क्षेत्री वर्ण धारण गरे, तर ईशापूर्व दोस्रो शताब्दीतिर रचिएको मनुस्मृतिमा झल्ल, मल्ल, लिच्छवि, नट, करण, खश र द्रविदलाई ब्रात्य क्षेत्रीय भनिएबाट यिनीहरूलाई तल्लो दर्जाको क्षेत्रीको मान्यता दिइएको बुझिन्छ । ब्रतबन्ध संस्कारका लागि अयोग्य तथा गायत्री जप नगर्ने भ्रष्ट क्षेत्रीहरूलाई ब्रात्य भनिन्छ भनेर मनुस्मृतिमा परिभाषित गरिएको छ । मनुस्मृतिमा खशहरूलाई कहिं ब्रषल (शूद्र) भएका क्षेत्रीय पनि भनेका छन् । कर्नाली प्रदेशका मतवाली क्षेत्रीहरूले मदिरा पिउने र जनाई नलगाउने प्रमाण हेर्दा खश क्षेत्रीको पुरानो रूप मान्दा अत्युक्ति नहोला । केही खश क्षेत्रीहरूलाई धेरै कालपछि मात्र बाहुनहरूले जनाई लगाइदिएको देखिन्छ ।
लगभग पाँचौं शताब्दीदेखि खश मूलका मानिसहरू कुमाउँबाट पश्चिम नेपाल प्रवेश गर्न थालेको अनुमान हुन्छ । बा¥हौं शताब्दी आइपुग्दा खश साम्राज्य स्थापना भए पछि खश अस्तित्व गौरवमय भएको देखिन्छ । पृथ्वीनारायण शाहले वर्तमान नेपाल निर्माण गरिसकेपछि खशहरूको शासन व्यापक हुन गयो । शाहकाललाई खश अहंकारवादसम्म पनि भनियो । पश्चिम नेपालमा खश क्षेत्रीहरूको बाहुल्यता यद्यपि छ भने नेपालको जनसंख्यामा सबै भन्दा ठूलो जाति खश नै देखिन्छ । सन् २००१ को जनगणना अनुसार क्षेत्री (खश) हरू १७ प्रतिशत, बाहुनहरू १३ प्रतिशत, जनजातिहरू ३८ प्रतिशत, दलितहरू १३ प्रतिशत, मधेशी १४ प्रतिशत, मुस्लीम ४ प्रतिशत र अन्य २ प्रतिशत छन् ।
बाहुनहरूले आफूलाई आर्य जाति मान्दछन् । आर्यहरूको उद्गम थलो हालको इरान (आर्यान), इराक (आर्याक), अरब (आर्याब), सिरिया (श्रीआर्य) आदि क्षेत्रहरू हुन् । यिनीहरू दक्षिण पाकिस्तानबाट छिरेर सिन्धुनदीको मैदान हुँदै गंगा नदीको मैदानतिर सर्दै आएका जाति हुन् र दश बा-ह शताब्दीतिर उत्तरको पहाडी भू–भाग छिरेको देखिन्छ । कर्नाली प्रदेशतिर बाहुनहरू थोरै संख्यामा छन् र धेरै पछि मात्र पुगेका हुन् । राजसत्ता प्राप्त गर्ने खशहरू ठकुरी बनेको र अन्य कतिपय खशहरू जनै लिएर तागाधारी–क्षेत्री बनेको निश्चित छ । ठकुरी र क्षेत्रीहरूमा धेरै संख्यामा मगर जाति पनि मिसिएका छन् । त्यस क्षेत्रमा पाइने दलितहरू भने खशहरू आइपुग्नु भन्दा पहिलेका अविकसित अनादिवासीहरू हुन सक्दछन् । मतवाली क्षेत्रीहरूलाई पावई खश पनि भनिन्छन् । रामनिवास पाण्डेको कथन अनुसार पावईहरू गोरखपुर नजिकको पावा राज्यबाट बुद्ध जीवित छँदै कोसलको हमलाबाट भागेका मल्लहरू हुन् । सत्तामा पुगेकाहरूले मल्ल थर लिएर ठकुरी पहिचान लिए भने अन्य मतवाली क्षेत्री भएर बसे ।
बुद्ध जीवित छँदै कोसलले शाक्य, कोलिए, मल्ल गणराज्यहरूमा हमला गरेका थिए । केही शाक्य र कोलियहरू भागेर काठमाडौं उपत्यका पसेको कुरा मूलसर्वास्तिवाद सूत्रमा उल्लेख गरिएको छ । केही शाक्य र कोलियहरू कर्नाली प्रदेशतिर पनि पुगेको कुरा यशोवर्माको (अछामि राऊला) अछाम जयगढको चौतारीमा ठड्याइएको एक शिलापत्रमा “ॐ मणिपद्मे हूँ महामण्डलेश्वर बुद्ध कुलावतार श्री यशब्रम्हश्चिरं जयतु” लेखिएको बाट केही संकेत मिल्दछ ।
खश साम्राज्यको बौद्ध इतिहासवर्तमान नेपालको मध्य र सुदूर पश्चिमाञ्चल खश साम्राज्यको इतिहासभित्र पर्दछन् । यो क्षेत्र कर्नाली प्रस्रवण क्षेत्र पनि हो । पृथ्वी मल्लको दुल्लु स्थित ढुंगाको प्रसिद्ध कीर्तिस्तम्भ अभिलेख (वि. सं. १४१४) यस क्षेत्रको बौद्ध इतिहासको सबैभन्दा महत्वपूर्ण प्रमाण बन्न गएको छ । यो शिलालेखको दुबै पाटाको शिरमा बौद्ध चैत्य, प्रसिद्ध बौद्ध मन्त्र “ॐ मणि पद्मे हूँ” रञ्जना लिपिमा अङ्कित छ । यस कीर्तिस्तम्भमा पृथ्वी मल्लले आफ्ना बाबु पुण्य मल्ल र आमा शकुनमाला तथा आफ्नी रानी र छोरीका नाम समेत लेखाएका छन् ।
यस प्रदेशको बौद्ध इतिहास र खश साम्राज्यको इतिहास तिब्बतको खारी प्रदेशका राजा नागराज जावेश्वरले विक्रम सम्बत् बा¥हौं शताब्दीको मध्यतिर कर्नाली प्रदेशका पाल राजाहरूलाई पराजित गरी जुम्ला सिञ्जालाई राजधानी बनाएर शासन चलाएपछि शुरु हुन्छ । तिब्बतमा बुद्धधर्मको प्रभाव बलियो रहेकोले नागराज बौद्ध हुनु स्वाभाविक थियो । तिब्बती बंशावलीमा नागराज पहिले बौद्ध भिक्षु बनेको पनि उल्लेख छ ।
नागराजको शासन कुमाउँ गढवालसम्म फैलिएको थियो । गढवाल बाराहटमा प्राप्त बुद्धमूर्तिको पादपीठमा रञ्जना लिपिमा भट्टारक नागराजले राखेको स्तुप भन्ने एउटा संक्षिप्त अभिलेख प्राप्त भएकोले नागराजको साम्राज्यको फैलावट गढवालसम्म थियो । साथै त्यहाँसम्म पनि बुद्ध धर्मावलम्विहरू थिए भन्ने कुराको संकेत गर्दछ । नागराजपछि चाप, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल राजा भए । क्राधिचल्ल पछि राजा भएका क्राचल्ल देव (वि.सं.१२६४–८०) नागराजपछि खश साम्राज्यको इतिहासमा उल्लेखनीय रहे । यिनैका पालादेखि तिथिमिति युक्त इतिहासको प्रामाणिक जानकारी हुन थाल्दछ । आपूmलाई परमसौगात (बुद्धका ठूला उपासक) लेखाई बौद्ध धर्मको प्रवल अनुयायी भएका थिए । तिब्बतको वंशावलीमा उनले ७० ब्रे तौलको सुनको मञ्जुघोष, २४ ब्रे तौलको सुनको स्तुप, सेता चाँदीका ५०० रूपियाँको शम्बर र १२०० रूपियाँको मैत्रेय बुद्धमूर्ति अर्पण गरेको बताइएको छ ।
क्राचल्ल पछि उनका छोरा अशोक चल्ल (वि.सं.१२८०–१३४४) राजा भए । अशोक चल्लको पालामा खश साम्राज्यमा कर्नाली प्रदेश, गण्डकी प्रदेश, खारी प्रदेश, केदारखण्ड कुमाउँ–गढवाल र संभवतः लद्धाख समेत समाविष्ट थिए । खश साम्राज्यको सबैभन्दा प्रतापि सम्राट् अशोक चल्ललाई ‘सपादलक्ष शिखरि क्षमापाल चूडामणी’ (सवालाख पर्वत देशका राजाहरूका मुकुटमणी) भन्ने वाक्य कुमाउँ गढवालका पुरुषोत्तमसिंहले बोधगयामा बुद्धमूर्ति सहितको गन्धकुटि बनाउँदा अभिलेखमा लेखेका छन् । अशोक चल्ललाई ‘अभिनव बोधिसत्वावतार’ को रूपमा वर्णन गरिएको छ । मगध राजा अशोकले जस्तै आपैmले धर्मयात्रा गर्न नसके तापनि बौद्धहरूले धर्मयात्रा गर्नुपर्ने संवेजनीय स्थानमा दानधर्म गरेको अभिलेख पाइएको छ । बोधगयाको एउटा अभिलेखमा प्रवरमहायानका अनुयायी परमोपासकको सारा गुणधर्म सम्पन्न भएका श्रीमद् अशोक चल्ल देवको दानको वर्णन छ । यस अभिलेखले अशोक चल्लले आफ्ना पुज्य काश्मिर पण्डित भदन्त गुचपथी, राजगुरु पण्डित मुशल, शंकरदेव आदि पात्र (भारदार) पठाएर बुद्धमूर्ति निधान गरी विहार बनाएको बर्णन छ । अर्को अभिलेखमा प्रवरमहायानका अनुयायी परमोपासक हेवज्रका चरणरूपी कमलका धुलाका भ्रमरा वा राजाहरूमा सपादलक्ष (सवालाख) पर्वत शिखरका खश देशका महाराजाधिराज श्री अशोक चल्लका कान्छा भाई राजकुमार श्री दशरथका सेवा गर्ने भण्डारिक सत्यवचन बोल्ने, बोधिसत्वको अनुशरण गर्ने क्षेत्रीय कुलदीप श्री सहणपालको दानधर्मको वर्णन छ ।
अशोक चल्लको पालामा कर्णाली प्रदेशमा राखेका बुद्धमूर्ति, विहार र चैत्यहरूका अन्य भग्नावशेषहरूमा दुल्लु पादुकास्थानका अक्षोभ्य बुद्धमूर्ति खश साम्राज्य कालको सबभन्दा महत्वपूर्ण देखिन्छ । एउटा शिलास्तम्भमा कुँदिएको यो बुद्धमूर्ति अति सुन्दर छ । यसमा कुँदिएका अभिलेखमा ‘ॐ नमो बुद्धायेः । स्री अशोक चल्लदेव स्चिरंजयतुः । सउना कार्की र साऊका कक्र्यानिको देवलः ।’ लेखिएको छ । यस अभिलेखमा उल्लेखित यो बुद्धमूर्ति बनाई चढाउने ब्यक्तिहरू सउना कार्की र साऊका कक्र्यानि भएकोबाट त्यस बेलाका साऊँद र सौका जातिका कार्कि÷कक्र्यानि (कर अधिकारी) रहेको कुरा स्पष्ट हुन्छ । त्यसबेला राजाहरू मात्र नभई कर्मचारीहरू समेत बौद्ध रहेको देखिन्छ भने त्यस भेगका आदिवासी साऊँद र सौकाहरू पनि बौद्ध भएको कुरा प्रमाणित हुन्छ । यो अभिलेख खश भाषामा लेखिएका पहिलो लिखित प्रमाण पनि हो । यसबाट खश भाषाको अभिलेख्य रूप अशोक चल्लकै पालामा शुरुआत् भएको देखिन्छ ।
सुर्खेतस्थित हाल भग्नावशेष रूपमा रहेको काँक्रेविहार उनैका पालामा निर्माण भएको महशूस हुन्छ भन्ने कुरा प्रा.डा. सूर्यमणि अधिकारी तर्क गर्नुहुन्छ । अशोक चल्ल पछि उनका छोरा जितारी मल्ल राजा भए । जितारीले चल्ल थर छोडी मल्ल पद धारण गर्न शुरु गरेका हुन् । रामनिवास पाण्डेका अनुसार यो मल्ल पद धारण गर्नुको पछाडि यो वंश पावा कुशिनगरबाट आएका मल्लहरू हुन् भन्ने देखाउन पनि हुन सक्दछ । जितारी मल्लले नेपाल उपत्यका तीन चोटी आक्रमण गरे र स्वयम्भू र बुंगमलोकेश्वरको पूजा गरेका थिए । ललितपुरमा एक महिना बसी यसलाई पाटन नाउँ राखे भने कान्तिपुरको काठको मन्दिरलाई काठमाडौं नाम राखेका हुन् । अशोक चल्लका अर्का छोरा आनन्द मल्ल भोटको शाक्य गुम्बामा भिक्षु बनेको थियो । आनन्द मल्लले स्वर्णपत्रमा बौद्ध ग्रन्थ ‘कंग्यूर’ सार्न लगाएका थिए । आनन्द मल्ललाई पनि “श्री हेवज्रपादपद्म परिचर्या परायण” भनेर लेखिएको छ । सिञ्जाका ठकुरीहरूले आनन्द मल्ललाई आफ्ना पुर्खा जालन्धरी राजा भनेर मान्दछन् ।
जितारी मल्लको देहान्तपछि आदित्य मल्लभन्दा पहिले भतिजा रिपु मल्ल दुई वर्ष (वि.सं.१३९९–७०) मात्र भए पनि राजा भएर प्रसिद्धि कमाएको थियो । गोपाल वंशावली अनुसार वि.सं.१३६९ मा खसिया राजा रिपु मल्लले बुंगमतीमा न्हवन गराउनुभयो, सन्हं चढाउनुभयो । ग्वलमा प्रसं बस्नुभयो, स्वयम्भू चैत्यमा बा-ह सवति (बाहालमा भिक्षु भएका सबैलाई) भोज खुवाई १८ दिन जति बसेर फर्के । रिपु मल्लले लुम्बिनी र निग्लिहवाका अशोक स्तम्भमा प्राचीन नेपालाक्षरमा “ॐ मणिपद्मे हूँ, श्री रिपु मल्लस्थिरं जयतु १२३४” कुँदाएका थिए । सुर्खेत काँक्रेविहारमा रिपु मल्लको समयमा “अभिसमयालंकार” भन्ने बौद्ध ग्रन्थ सार्ने काम भएको थियो । यस ग्रन्थको पुष्पिका वाक्यमा “विक्रम् संवत् १३७० फागुण कृष्ण द्वितीया, शनिवारका दिन सुर्खेतमा राजराजेश्वर लोकेश्वर श्री रिपु मल्लदेवको राज्यमा यो ग्रन्थ “अभिसमयालंकार” सारियो लेखिएको छ । यो ग्रन्थ तिब्बतको पोष्करण गुम्बामा सुरक्षित रहेको थियो । तिब्बती वंशावलीले रिपु मल्ललाई “धेरै भारतीय राज्यका अधिपति” भनिएको छ । सिञ्जाको चौकीखोला नजिक रहेको एक अभिलेख अनुसार रिपु मल्लले लोकनाथको पाउको ध्यान सम्बन्धी सबै अर्थ (मनोकामना) सिद्ध हुने “लघुरत्नत्रय” भन्ने विद्या (पुस्तक) लेखेको कुरा उल्लेख छ ।
आदित्य मल्लको राज्यकालपछि उनका छोरा कल्याण मल्ल राजा नहुँदै दिवंगत भएका र नाति प्रताप मल्ल राजा हुनुभन्दा पनि भिक्षु हुन रूचाउँदा राजगद्दीमा उनका छोरी ज्वाईं पुण्य मल्ललाई राजा बनाइयो । यहिं नागवंश टुंगिन्छ र गेलावंशको जयपालको छोरो् पुण्यपाललाई डोलाजी प्रथा अनुसार पुण्य मल्लको नाउँले पहिलो राजाको राज्यभार पाएको देखिन्छ । पुण्य मल्लले आपूmलाई “श्री घनाराधनागतप्राज्यराज्यरक्षाक्षम” अर्थात् बुद्धको आराधनाले पाएको ठूलो राज्य रक्षा गर्न सक्षम भएको भनेको छ । वि.सं.१३९१ मा पुण्य मल्लको पालामा नेपाल उपत्यका आक्रमण गरेका थिए । शाके १२५० को ताम्रपत्रमा गोर्खा ताघवाई गुम्बामा ब्यवस्था बाँधिदिएको पाइएको छ । शाके १२५८ को एक कनकपत्रमा “अत्र साक्षिणौ सूर्यचन्द्रमसौ बुद्धधर्म संघः” लेखिएकोले उनले सूर्य, चन्द्रसँगै बुद्ध, धर्म, संघलाई पनि साक्षी रूपमा उल्लेख गरेको छ । शाके १२५९ को अर्को कनकपत्रमा “परमेश्वरपरमसौगत कुल कमल” लेखिएको छ ।
पुण्य मल्लका जेठो छोरा श्री मल्ल भए र दुल्लुको प्रसिद्ध शिलास्तम्भ उनको अर्को छोराले राखेका हुन | श्री मल्ल राजा नहुँदै दिवंगत भएकोले पृथ्वी मल्ल राजा भए । पृथ्वी मल्लले पूर्वतिर नेपाल उपत्यका, पश्चिमतिर कुमाउँ, गढवाल, उत्तरतिर तिब्बतको पश्चिम भूमि र दक्षिणतिर सुर्खेतसम्म अधिनमा राखेको देखिन्छ । पृथ्वी मल्लले आफ्नो राज्यमा बसेका सबै भिक्षुहरू, ब्राम्हण, धर्मभाणक र सुत्तधरहरूलाई सबै प्रकारका कर नलिने गरेको कुरा दुल्लु शिलास्तम्भमा लेखिएको छ । धर्मभाणक र सुत्तधर शब्दहरू बुद्ध शासनको इतिहासमा अत्यन्त प्रसिद्ध र महत्वपूर्ण छन् । बुद्धको उपदेश (त्रिपिटक) चतुर्थ संगायनाबाट श्रीलंकामा लिपिवद्ध हुनु भन्दा अगाडिसम्म गुरु शिष्य परम्परामा कण्ठ गर्न लगाउने निकाय मध्येका सुत्तपितक कण्ठ गर्ने भिक्षुहरूलाई सुत्तधर र अभिधर्मको उपदेश दिनेहरूलाई धर्मभाणक भनिन्छ । उनका पालामा अमात्य जगतसिंह राउलाको रेखदेखमा तराईबाट शीतकालीन राजधानी दुल्लु र ग्रीष्मकालीन राजधानी सिञ्जा हुँदै दक्षिण–पश्चिमी तिब्बत जाने मार्गलाई सुधार गरी राजमार्गको रूप दिइएको थियो । राजमार्गको किनारमा धर्मशाला र पनेराहरू निर्माण गरिएका थिए । दुल्लुबाट कालिकोट जाने बाटोमा हाउडीको लेकनेर ओडार जस्तो प्रस्तर निर्मित धर्मशाला अद्यावधि छ । दुल्लुको उकालोमा अमात्य देववर्माले बनाएको पात्थर नाउलीमाथि पाँचवटा चैत्य बनाएको कुरा शाके १२७६ को शिलालेखले प्रमाणित गरेको छ । त्यस्तै अछामको कूची चैत्यको शाके १२७६ को शिलालेखमा “श्री देव वर्मा जय पुण्येन सर्वे सत्वा सुखिनो भवन्तु” वाक्य लेखिएको छ । शाके १२७७ को दुल्लु दुल्लभेश्वरको जयसिंहको शिलालेखमा “ॐ मणिपद्मे हूँ ....सुखावतिं मोदतु” लेखिएको छ । अछाम घोडासैन स्थित तारादेवीको शिलालेखमा “ॐ मणिपद्मे हूँ श्री तारादेवीश्चिरंजयतु” लेखिएको छ । दुल्लु बालभैरबस्थित जयसिंहको शिलालेख, कालिकोट देवारगौंडाको जगतिसिंहको शिलालेख, कालिकोट थर्पुको शिलालेखमा “ॐ मणिपद्मे हूँ.. एतत्पुण्य फलाञ्जीयात्पृथ्वीमल्ल नृपश्चिरम्, “मंगलं भवतु श्री पृथ्वीमल्लदेव” “अन्येनपुण्येन सर्वे सत्वाः सुखिनो भवन्तु । धर्मराज पृथ्वी मल्लः शुभं भवतु ।” लेखिएको छ । पृथ्वी मल्लको शाके १२८० को मुडेदेवल शिलालेखमा “चिरंतनजलाधारोपरिचैत्र्यत्रकारिता” लेखेको बाट त्यहाँ पानी पिउने धारा र चैत्य बनाइदिएको बुझिन्छ ।
बुद्धधर्ममा आस्था भएका पृथ्वी मल्ललाई “परमधार्मिक परमकल्पद्रुमावतार” भनिएको छ । प्रा. जिसेप टुचीको विश्लेषणअनुसार पृथ्वी मल्लको ठूलो आकांक्षा थियो र यसलाई साकार पार्न उनले अथक प्रयास पनि गरे । तर यस्तो लाग्छ कि कहिं गएर उनले ठूलो विपत्तिको सामना गर्नुप¥यो । पृथ्वी मल्ल निःसन्तान भएकोले जालन्धरी मल्लका नाति तथा रिपु मल्लका माहिला छोरा सूर्य मल्ल खश साम्राज्यको सिंहासनमा पुनः नागराजका पुरुष सन्तानको रूपमा पुगेको कुरा श्रीपाली वंशावलीबाट देखिन्छ । तर पृथ्वी मल्लको अन्तिम समयतिर नै खश साम्राज्य चरमराउन थालेको देखिन्छ । उनकै पालामा डोटी प्रदेश, खारी प्रदेश र कुमाउँ–गढवाल स्वतन्त्र भए ।
पृथ्वी मल्लको राज्यकालमा यशोवर्मा अत्यन्त प्रभावशाली महामात्य थिए । उनलाई “अछामि राऊला” पनि भनिएको छ । एउटा दानपत्रमा उनका सन्तानहरू जयतवर्मा, श्रीवर्मा, सुजानवर्मा र सुमेरुवर्माको नाम दृष्टिसाक्षीको रूपमा देखिएका छन् । राज्यका महत्वपूर्ण व्यक्तिहरू प्रायः दृष्टिसाक्षीमा रहने गर्दथे । वर्मान्त नामधारी उपयुक्त ब्यक्तिहरूमा “राऊला” विशेषण लगाइएको छ । “राऊला” पद राजपुत्रको पर्यायवाची मानिन्थ्यो । एउटा अति चाखलाग्दो विषय भनेको यशोवर्मालाई “बुद्धकुलावतार” भन्नु हो । यसले कहिं कपिलवस्तुका शाक्यहरूका सन्तानहरू नै वर्मा भएर बसेका त होइनन् भन्ने प्रश्न पनि गर्न सकिन्छ ।
पृथ्वी मल्लले बुढेसकालमा राजकाजमा ध्यान दिन छाडेकाले सिञ्जाका भारदारहरू प्रशासनमा आ–आफ्नो पकड जमाउन आपसमा होडबाजि गर्न थाले । यो सत्ता संघर्षमा यशोवर्माले अरु सबैको प्रभावलाई समाप्त पारेर पृथ्वी मल्लका सबभन्दा शक्तिशाली महामात्य बने । उनका सन्तानहरूले प्रशासनमा आफ्नो नियन्त्रण कायम राखे । विशेष गरेर महामात्य तथा महामण्डलेश्वर यशोवर्मा, महामात्य सुजनवर्मा, महामण्डलेश्वर मेदिनीवर्मा, मण्डलीय रूपनारायण संसारवर्मा हुँदै मलयवर्माको पालामा महाराजाधिराज नै भएर वर्मा परिवारको प्रतिस्था बढाएको देखिन्छ । तर मलयवर्माका १२ छोराहरूमा खश साम्राज्य बाँडफाँड भएर विघटन भए । विघटनमा कुमाउँ गढवालतिर गरुड ज्ञानचन्द, तिब्बतमा चाङ्ग–चुव ग्याल्त्सेन, डोटीमा रैका निरयपाल, जुम्लामा कल्याल बलिराजले राज्य स्थापना गरे । वर्मा परिवारका महत्वाकांक्षी सदस्यहरूले सल्यान, जाजरकोट, डुल्लु, अछाम, दैलेख, दर्ना, छिल्ली, माल्नेटा राज्यहरू चलाए । बझाङ भेकका रजौटाहरू यशोवर्माकै सन्तान भएता पनि पछि कुनै समयमा वंश परिवर्तन भएको र नयाँ राजपरिवारले “सिंह” लेख्न थालेको बुझिन्छ । सिंह वंशीका राज्यमा बझाङ, बाजुरा, थलहरा र दाङ थिए । गण्डकी प्रदेशमा पर्वत र गलकोटका राजाहरू पनि मलयवर्माकै सन्तान मानिएका छन् । अन्तमा खश साम्राज्य यसरी बाइसे राज्यहरूमा विभाजन भए ।
खशहरू बौद्ध हुन्खश साम्राज्यमा बुद्धधर्म राजकीय धर्म रहेको थियो । नागराज जावेश्वर र उनका उत्तराधिकारी राजाहर बौद्ध धर्मका ठूला अनुयायी भए । राजा र राजपरिवार मात्र नभएर कार्कि, राऊला, राउत, वर्मा, सिंह, थापा, भण्डारी, सेजवाल, कुंवर, खड्का, जेइसी जस्ता प्रभावशाली भारदार र सामन्त पनि बुद्धधर्ममा प्रवल आस्था राख्दथे भन्ने कुरा उनीहरूले राखेका शिलालेख, कनकपत्र, रजतपत्र, ताम्रपत्रबाट देखिन्छ । शिलालेखमा “ॐ मणिपद्मे हूँ” र राजाहरूलाई “परमसौगात”, “प्रवरमहायानयिन”, “हेवज्रपादपद्मप्राज्यराज्य रक्षाक्षम्” इत्यादि भनिएकोले खश साम्राज्यको राजकीय धर्म बौद्ध धर्म भएको प्रष्ट हुन्छ । दानपत्रहरूमा बुद्ध, धर्म, संघ साक्षी राखिएकोबाट पनि राजकीय धर्म रहेको कुरा देखिन्छ ।
कर्नाली प्रस्रवण क्षेत्रमा पश्चिमतिरबाट खशहरू प्रवेश गर्नु अगाडि त्यस क्षेत्रमा मस्तो मान्ने आदिवासीहरू थिए । पछि पावाका मल्लहरू, कपिलवस्तुका शाक्यहरू, कोलियका मगरहरू, खारप्रदेशका जाडहरूले बुद्धधर्म ल्याए । श्रीपाली वंशावलीमा नागराजले वडुवालराजा, रावलराजा, पालराज, थापाराजा, खड्काराजा, विष्टराजा र जाडेराजालाई मारेर खारीकोटको राज्य बढाएको र सिंजानगरीमा दरबार खडा गरेको उल्लेख हुनुबाट खश साम्राज्य खडा हुनु अगाडिको राजनैतिक परिवेशको अन्दाज लगाउन सकिन्छ ।
नवौं शताब्दीमा शंकराचार्यले बौद्ध मार्गीहरूलाई आक्रमण गर्नु अगाडि बदरीनाथ र केदारनाथमा समेत बौद्ध पुजारी भएको र पछि दक्षिण भारतीय ब्राम्हणहरूलाई पुजारी बनाएको उल्लेखबाट कुमाउँ गढवालदेखि पूर्वी पहाडहरूमा बुद्धधर्म फैलिएको कुरा त्यस भेगमा पाइएका बौद्ध धर्मसँग सम्बन्धित मूर्ति र अभिलेखबाट सिद्ध हुन्छ । कुमाउँ भेगका खश राजाहरू खारी प्रदेशमा शासन गर्न पुगे । त्यसै बेला तिब्बतमा बौद्ध धर्म बिरोधी राजा लाङदर्माको हत्या भएको थियो । तिब्बतमा बुद्धधर्म फेरि सशक्त भएर आयो । खारी प्रदेशमा आएर खश राजाहरूले बुद्धधर्मलाई अझ बलियो पारेर एकीकरणपछि खश साम्राज्य बुद्धधर्मलाई राजकीय धर्ममा स्थापित ग¥यो । नागराजका सन्तानहरूले आफ्नो साम्राज्य र प्रभाव कुमाऊँ गढवालतिर फेरि पैmलाएका थिए । अशोक चल्लको पालामा यस भेगमा पुरुषोत्तम सिंहले बोधगयामा बुद्धमूर्ति सहित गन्धकुटि बनाएको अभिलेखबाट सिद्ध हुन्छ ।
विक्रम सम्बत् १४०० पछि कुमाउँ गढवाल, खारी प्रदेश, डोटी प्रदेश खश साम्राज्यबाट स्वतन्त्र भए भने वि.सं.१४५० पछि जुम्ला राज्य बलिराजले (उत्तिम थापाका छोरा र कल्याल वंशको संस्थापक) खोसेपछि खश साम्राज्य बाइसे राज्यमा विघटन भए । खश राज्यको विघटन पछि हिन्दूकरणको प्रभाव बढ्न गयो । राजा हुने परिवारहरू (मल्ल, सिंह, वर्मा, शाही आदि) ठकुरी भए भने कार्कि (कर अधिकृत), थापा (स्थानिय प्रशासक), खड्गा (खड्गधारी सेना), विष्ट, बुढा, बोहरा, राउत, रावल, बस्नेत, महत, भण्डारी, रोकाया आदि सरकारी ओहडामा बस्ने तागाधारी क्षेत्री भए र प्रजाको रूपमा खेति किसानी गर्ने खशहरू मतवाली क्षेत्री भए ।
निष्कर्षबा-हौं शताब्दीमा कर्नाली प्रस्रवण क्षेत्रमा उदय भएको खश साम्राज्य पन्धौं शताब्दीमा बाइसे राज्यमा विघटन भए पनि खश शासकहरूले गण्डकी प्रदेश हुँदै नेपालमण्डलसम्म शासन गर्न पुग्यो भने पछि पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकीकरण गरेर आधुनिक नेपाल राज्यको समेत निर्माण गर्न पुगे । एक वर्ष अगाडि राजा ज्ञानेन्द्रले राजगद्दी त्यागेर गणतन्त्र घोषणा गर्नु अघिसम्म पनि नेपालको शासक खश सम्राट् शाह ठकुरीलाई मानिन्छ । शाह राजतन्त्रको समाप्तिपछि खश शासनको इतिहास पनि सकिन्छ । खश जातिको रूपमा रूपान्तरित ठकुरी, क्षेत्रीहरूले संघीय गणतन्त्र नेपालमा आफ्नो पहिचानको पुनःपरिभाषा गर्न खोज्दैछ र आदिवासी जनजातिमा सूचिकृत हुन चाहना गरेको छ । खश जातिको इतिहास हेर्दा नेपालमा यो जाति आदिवासी जनजाति नै हुन आएको छ । मुख्य प्रश्न आदिवासी जनजातिको पहिचान प्राप्त गर्न खोज्नुको तात्पर्य के हो भन्ने कुरा स्पष्ट बाहिर आउन बाँकि छ ।
खश जातिले आदिवासी जनजाति पहिचान सुदृढ गर्न खोज्नुको उद्देश्य हुनसक्छ– खस जातिको गौरब र इतिहास संरक्षण गर्नु, संघीय गणतन्त्र नेपालमा खस संघीय राज्य स्थापना गर्नु र साथै राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्व सुरक्षित गर्नु । तर यस खश जातिले शुरु गरेको पहिचानको राजनीतिमा खश जातिलाई उच्चतामा पु¥याएको बुद्धधर्मलाई पुनः मूल्यांकन गर्न बिर्सेमा आफ्नो गौरबलाई प्रकाशमय बनाउन नसकिएला । साथै खश जातिको पहिचानको राजनीतिमा पनि अहम प्रभाव पार्दछ । खश जाति आदिवासी जनजातिमा समावेश भए पछि नेपालमा आदिवासी जनजातिको जनसंख्या ५५ प्रतिशत (३८ प्रतिशत जनजाति र १७ प्रतिशत खश क्षेत्री) पुग्दछ । यो भनेको यस जनसंख्याले नेपालको राजनीतिमा निर्णायक स्थान ओगट्नेछ । यो समिकरणलाई १३ प्रतिशत बाहुन, १४ प्रतिशत मधेशी र १२ प्रतिशत दलितले कसरी लिने हो अहिले अन्दाज लगाउन सकिंदैन । खश जातिले आफ्नो बौद्ध इतिहास प्रति कृतज्ञ भई बुद्धधर्मको विकासमा पनि योगदान दिन थाले नेपालको धार्मिक पहिचानमा पनि ठूलो परिवर्तन आउनेछ र अन्तर्राष्ट्रिय स्थानमा पनि प्रभाव पार्नेछ ।
खशहरू बौद्ध थिए, आज पनि अन्य बौद्धहरूले खश पहिचानको अभियान प्रति सकारात्मक नै हुनुपर्छ । साथै खश साम्राज्यमा बौद्ध धर्मको साथै हिन्दूधर्म र मस्तोधर्मलाई पनि सम्मान र उच्च स्थान दिएर धार्मिक सद्भाव र समृद्धि गरेको कुरा पनि बिर्सनुहुन्न । साथै खश साम्राज्यमा धर्मभाणक र सूत्रधरहरूलाई सम्मानित स्थान दिइराखेको कुरा पनि सम्झनुपर्छ ।
अन्तमा, नेपालमा जाति, धर्म, भाषा र संस्कृतिको कुरा गर्दा डोरबहादुर विष्टको “भाग्यवाद र विकास” पुस्तकलाई मनन गर्नुपर्दछ । यी नै कुराको आधारमा नेपालमा “आफ्नो मान्छे” को संस्कृति विकास हुन गई समाज र देश विकास हुन नसकेको हो । नेपाली सबैमा हामी भन्ने भावना कसरी विकास गर्ने भन्ने कुरामा पनि संवेदनशील हुनुपर्छ । वर्णाश्रमी समाजबाट नेपाली नेपाली बीच शंका, विश्वासघाट, भ्रष्टाचार व्याप्त छ । समतामूलक समाज विकास गर्नमा हामी लाग्नुपर्दछ । खश क्षेत्री समाजले ठोस योगदान पु-याउन सक्दछ ।
केही सन्दर्भ ग्रन्थहरूः–
१. सूर्यमणि अधिकारी, खश साम्राज्यको इतिहास, काठमाडौं, २०६१ ।२. धनवज्र, वज्राचार्य, कर्णाली प्रदेशको ऐतिहासिक रूपरेखाः कर्णाली प्रदेश एक छोटो अध्ययन, जुम्ला, २०२८ ।३. रामनिवास पाण्डे, मेकिङ्ग अफ् मोडर्न नेपाल, नयाँ दिल्ली, इ.सं.१९९७ ।४. डोरबहादुर विष्ट, फेटालिज्म एण्ड डेभलपमेण्ट, ओरिण्ट लंगमैन, हैदरावाद, इ.सं.१९९१ ।५. डिल्लीरमण रेग्मी, मिडिभल नेपाल, भाग–१, रूपा कंपनी, दिल्ली, इ.सं.१९६५ ।६. बालकृष्ण पोखरेल, खश जातिको इतिहास, विराटनगर, २०५५ ।
यहाले खस जातिको बारेमा त जानकारि गराइदिनु भो । तर खस जाति नेपाल मा आउनु आउनुअगाडि को थियो नेपालमा । अनि वुद्व जन्मनु भन्दा अगाडि यि खस जातिको धर्म के थियो ?
ReplyDeleteवर्णाश्रम व्यवस्था भन्दा बाहिरका लाई मात्र आदिवासी हुन् भनेर तपाईले आदिवासी भन्ने शब्दको नयाँ परिभाषा दिनुभएकोमा तपाईलाई महान सङ्कीर्ण व्यक्तित्व मान्दछु।आदिवासी भन्नाले सोही ठाउँमा उत्पत्ति भएको जाति भनेर बुझिनुपर्ने हो भारतको विहारमा पर्ने कुनै स्थानबाट आई नेपालमा आदिवासी भएका नेवारहरु भन्दा त खस जाति नै असली आदिवासी होइन र ? नेपालको इतिहासको अध्ययन गर्दा नेपालमा पाईने जातजातिलाई ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी विभाजन गरी जयस्थिति मल्लले वर्णाश्रम व्यवस्थाको शुरुवात गरेको पाइन्छ । के यसरी जातीय विभाजन गर्ने जयस्थिति मल्ल ब्राम्हण थिए ? तपाईँलाई त थाहा नै होला उनी सर्वश्रेष्ठ मल्लकालीन राजा थिए जसका वंशजहरु हाल पनि नेवार जातिको रुपमा नेपालभरी छरिएर रहेका छन् । यस प्रति भने तपाईँको ध्यान नपुगेको देखिन्छ ।
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete